24
 1 ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।  2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”  3 जब उहाँ जैतून डाँडामा वस्नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्कै आए र भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ ?”  4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।”  5 किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ !’ र धेरैलाई भड्काउनेछन् ।  6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन ।  7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।  8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।  9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।  10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।  11 धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।  12 किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ ।  13 तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।  14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।  15 त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस),  16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,  17 जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् ।  18 र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।  19 तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन् !  20 हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर ।  21 किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।  22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।  23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन् !’ वा, ‘ख्रीष्ट त्यहाँ छन् !’ भन्छ भने त्यसलाई विश्वास नगर ।  24 किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।  25 हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु ।  26 त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्वास नगर ।  27 किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।  28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।  29 तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन् ।  30 तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन् ।  31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।  32 अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।  33 त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्नुपर्छ ।  34 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।  35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।  36 तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।  37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ ।  38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए,  39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।  40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ ।  41 दुई जना स्त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ ।  42 त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन ।  43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन ।  44 त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।  45 त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ ?  46 त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।  47 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।  48 तर यदि दुष्ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ,  49 अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने,  50 त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ ।  51 त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।