10
 1 यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले ऐलाई कब्जा गरेका र यसलाई (तिनले यरीहो र यसका राजालाई गरेझैँ) पूर्ण रूपमा नष्ट गरेका कुरा सुने, अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्ति सम्झौता गरे र तिनीहरूका माझ बस्छन् भन्ने पनि सुने ।  2 यरूशलेमका मानिसहरू साह्रै भयभीत भए, किनभने गिबोन राजकीय सहरहरूमध्ये एकजस्तै ठुलो सहर थियो । यो ऐभन्दा ठुलो र यसका सबै मानिस शक्तिशाली योद्धाहरू थिए ।  3 त्यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्देश पठाए,  4 “मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् ।”  5 पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे ।  6 गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।”  7 यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्ने सबै मानिस गिलगालबाट गए ।  8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्न सक्ने छैनन् ।  9 यहशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे ।  10 परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्केदाको बाटोसम्मै उनीहरूलाई मारे ।  11 जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो,  12 अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र?  13 सूर्य आकाशको बिचमा रहिरह्यो; यो झण्डै पुरै दिनभरि नै अस्ताएन ।  14 परमप्रभुले मानव-जातिको कुरा सुन्नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।  15 यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के ।  16 अब पाँच जना राजा उम्केका र आफै मक्केदाको गुफामा लुकेका थिए ।  17 यहोशूलाई यसो भनियो, “पाँच जना राजा मक्केदाको गुफामा लुकेको भेट्टाइए ।”  18 यहोशूले भने, “गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।  19 तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।”  20 उनीहरू झण्डै पूर्ण रूपमा नष्ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।  21 त्यसपछि सबै फौज मक्केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।  22 यहोशूले भने, “गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।”  23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।  24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।  25 अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”  26 अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए ।  27 घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् ।  28 यसरी, यहोशूले त्यस दिन मक्केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।  29 यहोशू र सारा इस्राएल मक्केदाबाट लिब्नातिर गए । तिनले लिब्नाविरुद्ध लडे ।  30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।  31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे ।  32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे ।  33 त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।  34 त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे,  35 र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्ट पारे ।  36 त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे ।  37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्ट पारे ।  38 त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे ।  39 तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।  40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्ट पारे ।  41 यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे ।  42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।  43 त्यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के ।